देशका अधिकांश क्षेत्रमा गर्मी बढ्ने क्रम जारी रहँदा आज मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा उच्च तापक्रम रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही स्थानमा वर्षाको सम्भावना रहे पनि धेरैजसो क्षेत्रमा तातो दिनको अवस्था रहने जनाएको छ।
विभागका अनुसार हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। लुम्बिनी, सुदूरपश्चिम तथा अन्य पहाडी–हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोसी, मधेससहित हिमाली क्षेत्रका केही भागमा बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र बाँकी तराईमा मौसम सफा रहने विभागले जनाएको छ। केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार देशका केही क्षेत्रमा वर्षा भए पनि समग्रमा गर्मी बढ्दै जाने संकेत देखिएको छ। उहाँले मनसुन तत्काल प्रवेश गर्ने सम्भावना नरहेको र जेठको अन्तिम सातातिर मात्रै नेपाल भित्रिन सक्ने बताउनुभयो।
बुधबार भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो भने नेपालगञ्जमा ३९.५ डिग्री सेल्सियस मापन गरिएको थियो। सिमरा र जनकपुरमा ३८.२ तथा धनगढीमा ३८.१ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। वर्षा गराउने प्रणाली कमजोर बन्दै जाँदा देशका विभिन्न क्षेत्रमा गर्मीको प्रभाव बढ्दै गएको मौसमविद्हरूले बताएका छन्।
















