राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको लामो समयदेखिको आन्तरिक विवाद अन्ततः विभाजनको चरणमा पुगेको छ। पार्टीका महामन्त्री धवलशमशेर राणा सहित १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत राणा पक्षले राप्रपाको वर्तमान नेतृत्व आत्मकेन्द्रित बनेको, पार्टीको मूल विचार र उद्देश्यबाट विचलित भएको तथा एकता महाधिवेशनले दिएको म्यान्डेटको अवमूल्यन गरेको आरोप लगाएको छ।
पार्टी छाड्दै सार्वजनिक गरिएको वक्तव्यमा नेतृत्वले केन्द्रीय समितिलाई जानकारी नदिई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रममा सहभागिता जनाएको भन्दै आपत्ति जनाइएको छ। संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको पार्टी गणतन्त्र सुदृढीकरणको पक्षमा उभिनु वैचारिक विचलन भएको उनीहरूको दाबी छ।
राणा पक्षले पार्टी नेतृत्वले समयमै महाधिवेशन नगरेको, राजसंस्था पुनर्स्थापनाका आन्दोलनलाई कमजोर बनाएको तथा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई निष्क्रिय बनाएको आरोप पनि लगाएको छ। पटक–पटक स्पष्टीकरण माग्दा समेत नेतृत्वबाट चित्तबुझ्दो जवाफ नपाएको उनीहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा राणाले आफूले नेतृत्व गर्ने नयाँ दलको मुख्य वैचारिक आधार ‘राजासहितको प्रजातन्त्र’ हुने बताए। उनले हिन्दू राष्ट्र, सुशासन, रोजगारी, युवा तथा महिलाको नेतृत्वलाई प्राथमिकतामा राखेर नयाँ राजनीतिक शक्ति निर्माण गरिने जानकारी दिए।
“नयाँ पार्टी मात्र होइन, राष्ट्रवादी शक्तिहरूलाई समेट्ने बलियो राजनीतिक घर निर्माण गर्ने अभियान हो,” राणाले भने। उनले विभिन्न राजावादी, राष्ट्रवादी तथा हिन्दूवादी समूहसँग एकता र सहकार्यको पहल गरिने पनि बताए।
राप्रपाका प्रभावशाली नेतासहित ठूलो संख्यामा नेता–कार्यकर्ता बाहिरिएपछि पार्टीभित्रको संकट थप गहिरिएको छ भने यस घटनाले राप्रपाको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि समेत प्रश्न खडा गरेको छ।
















