बालेन सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा प्रतिस्पर्धामा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयसँग आबद्ध तीन जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बालेनका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

अशिम शाहले मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र संवादको पक्षमा सक्रिय शाहलाई बालेन र रास्वपाबीचको राजनीतिक समन्वयका प्रमुख पात्रका रूपमा हेरिन्छ। सञ्चारकर्मी, चलचित्र निर्देशक तथा राजनीतिक विश्लेषकका रूपमा समेत परिचित शाहले विभिन्न राजनीतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

यस्तै, सुदीप ढकालले खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। सूचना प्रविधि, सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा काम गर्दै आएका ढकालले काठमाडौं महानगरपालिकामा डिजिटल प्रशासन र तथ्यांकमा आधारित निर्णय प्रणाली विकासमा महत्वपूर्ण योगदान दिएका थिए। पछिल्लो समय उनी वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र संवादका विषयमा सक्रिय रहँदै आएका छन्।

त्यसैगरी, प्रकृति ढकालले खुला महिलातर्फबाट उम्मेदवारी दर्ता गरेकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान तथा युवा नेतृत्व विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकी ढकाल हालै बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेर नेपाल फर्किएकी हुन्। उनले उक्त अध्ययन उत्कृष्ट नतिजासहित सम्पन्न गरेको जनाइएको छ।

रास्वपाको महाधिवेशनमा बालेन निकट तीन जनाको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्य र नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा समेत हेरिएको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी रणनीति र संगठन विस्तारको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.