बकैयाले ल्यायो ८९ करोड ५० लाखको बजेट, स्वास्थ्य–शिक्षा र कृषिमा विशेष जोड

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्ताव गरेका हुन्।

प्रस्तावित बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ (७१.४३ प्रतिशत) र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ (२८.५७ प्रतिशत) विनियोजन गरिएको छ। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई आगामी वर्षको बजेटको मुख्य आधार बनाएको जनाएको छ।

उपाध्यक्ष खत्रीका अनुसार बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड तथा सशर्त अनुदानमार्फत ४९ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै बागमती प्रदेश सरकारबाट विभिन्न अनुदानमार्फत १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ५ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ।

आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रलाई विशेष प्राथमिकता दिँदै कुल बजेटको ३३.७० प्रतिशत अर्थात् १० करोड ३३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। पूर्वाधार विकासका लागि ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ।

शिक्षाको गुणस्तर सुधार तथा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि २ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ। कृषिको व्यवसायीकरण र आधुनिकीकरणमार्फत खाद्यान्न, दूध तथा मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित २ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै संस्थागत विकास, सेवा प्रवाह, सुशासन तथा विभिन्न कोष व्यवस्थापनका लागि ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेटमार्फत गाउँ कार्यपालिकाको कार्यालयसँग करार सम्झौतामा कार्यरत कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था पनि गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले पूर्वाधार विकास आयोजनामा नागरिकको अपनत्व र स्वामित्व अभिवृद्धि गर्न १० प्रतिशत लागत साझेदारीको नीति अवलम्बन गरिएको बताए। सीमित स्रोत–साधनका बाबजुद बकैयावासीको विकास अपेक्षालाई सम्बोधन गर्ने प्रयासस्वरूप बजेट ल्याइएको उनको भनाइ छ।

चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्म गाउँपालिकाले ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको र असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.