हेटौंडामा नगदसहित सुन–चाँदी चोरी, आरोपित व्यक्ति कारागार फरार रहेको खुलासा

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौंडा–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनीस्थित कृष्णप्रसाद गौतमको घरमा कोही नभएको मौका छोपी पूर्वतर्फको ढोका फुटाएर चोरी गरिएको थियो। घटनामा करिब एक तोला सुन, २५.५ तोला चाँदी, १५ वटा चाँदीका सिक्का तथा नगद चार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा–१५ फारलाइनमा बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मगरको डेरामा खानतलासी गर्दा चोरीसँग सम्बन्धित चाँदीका सिक्का, नगद रकम, गरगहना, सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न सामग्री तथा अन्य सामान बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मगर यसअघि जेन्जी आन्दोलनका बेला भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मगरलाई बरामद सामानसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा बहुमूल्य गरगहना नराख्न, घर खाली छाड्नुपरेमा छिमेकी वा आफन्तलाई जानकारी गराई आवश्यक निगरानीको व्यवस्था मिलाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.