हेटौँडा। हेटौँडाकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले ८ जनालाई दोषी ठहर गर्दै ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजाय सुनाएको छ। अदालतले दोषीहरूको अभिभावकबाट पीडितका लागि कुल ९ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले हेटौँडा उपमहानगरपालिका–१४ निवासी १८ वर्षीय सुजितकुमार लामालाई घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।
घटनामा संलग्न अन्य ६ जना नाबालकलाई कानुनअनुसार १० वर्ष कैद हुने भए पनि उनीहरू १८ वर्षभन्दा कम उमेरका भएकाले दुई तिहाइ अर्थात् साढे ६ वर्ष कैद सजाय सुनाइएको छ। उनीहरूका अभिभावकबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको छ।
यस्तै, घटनामा संलग्न १५ वर्षीय एक किशोरलाई ३ वर्ष कैद तथा ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ। मुख्य अभियुक्त सुजित लामा हाल भीमफेदी कारागारमा रहेका छन् भने अन्य ७ नाबालक हेटौँडाको थानाभर्याङस्थित बालसुधार गृहमा छन्। घटनामा संलग्न अन्य दुई किशोर भने अझै फरार रहेका छन्।
गत माघ ६ गते हेटौँडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा किशोरीमाथि जबर्जस्ती करणी भएको आरोपमा पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। त्यसको आधारमा प्रहरीले फागुन २२ गते ८ जनालाई पक्राउ गरेको थियो।
अदालतबाट दोषी ठहर भएका किशोरहरू र पीडित किशोरी हेटौँडास्थित एउटै क्याम्पसका विद्यार्थी रहेको जनाइएको छ। पीडित स्नातक तहमा अध्ययनरत छिन् भने दोषी ठहर भएका किशोरहरू कक्षा १२ मा अध्ययनरत थिए।























