‘तामाङ प्रसारण दिवस’ को कार्यक्रम मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन

हेटौँडा । ३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा आयोजित ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ को उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कार्यक्रमको उद्घाटन गरेका हुन् ।

तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र तामाङ पत्रकार संघ मकवानपुर जिल्ला कार्य समितिको आयोजनामा हेटौँडाको पल्पसा सदनमा कार्यक्रम हुँदैछ । कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश हेटौँडाको सहकार्यमा भएको हो ।

कार्यक्रममा आज ‘आईते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८२’ बाट नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ चतुराले निवासी पत्रकार अर्जुनबहादुर ग्लान तामाङ सम्मानित हुँदैछन् । त्यस्तै ‘तामाङ पत्रकारिता पुरस्कार–२०८२’ बाट मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ निवासी पत्रकार भुवन घलान (सोमलाल) लाई सम्मानित गरिँदैछ ।

वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार यस वर्षको कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवर्द्धन र पत्रकारितामा यसको योगदानबारे विशेष छलफल हुने छ।

उनका अनुसार बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पत्रकारिताको भूमिकासम्बन्धी अन्तरक्रिया पनि आयोजना गरिनेछ। कार्यक्रम अन्तगर्त हुने प्यानल छलफलमा मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान, नेपाल तामाङ घेदुङका केन्द्रीय कार्यसमिति सदस्य मेम्बर लो, संस्कृतिक तथा पर्यटन मन्त्रालय बागमती प्रदेशका सचिव दिपेन्द्र सुवेदी, मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतले सहभागिता जनाउनेछन् ।

 

आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ राप्ती नगरपालिका–७, चितवनका युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत बुवा आइते सिं रुम्बा र आमा बुद्धिमाया नेगीको स्मृतिमा स्थापना गरेका हुन्।

संघका सचिव दिल बहादुर रुम्बा तामाङका अनुसार, बागमती प्रदेशभित्र क्रियाशील एक जना तामाङ पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कार राशी १० हजार १ सय रुपैयाँ रहनेछ र विशेष समारोहकै बीचमा हस्तान्तरण गरिनेछ।

त्यस्तै तामाङ पत्रकारिता पुरस्कार २०८२ को पुरस्कार राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कारबाट प्रत्येक वर्ष मकवानपुरका क्रियाशिल तामाङ पत्रकारलाई सम्मान गरिने छ ।

संघले तामाङ समुदायको हक–हित, पहिचान, भाषा, संस्कृति तथा कला–साहित्य संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय भूमिका खेलेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.