हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गर्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भई दुई लाख पाँच हजार नौ सय रुपैयाँमा पुगेको छ।
महासङ्घका अनुसार हिजो सुनको मूल्य तोलामा दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो। त्यसअघि, अस्ति सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भई नयाँ कीर्तिमान बनाएको थियो। लगातार तीन दिनदेखि सुनको मूल्य उच्च विन्दुमा पुगेको हो।
यसैगरी, चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलामा दुई हजार चार सय ७० रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा देखिएको यो उकालो यात्रा अन्तर्राष्ट्रिय बजारको मूल्य, माग र आपूर्तिको अवस्थाले निर्धारण हुने गर्दछ। हालको मूल्य वृद्धिले उपभोक्ता र व्यवसायी दुवैमा चासो बढाएको छ।



































