धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
विश्वक्रान्ति, कुमार र देवराज लामा नामले पनि चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौंको कपन क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाँचथरमा दर्ता रहेको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको हो।
लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरी अभियोजन गरेको थियो।
यसैबीच, २०६९ असारमा पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेर काठमाडौं पठाइएका लामाविरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा अझै विचाराधीन अवस्थामा रहेको पाइएको सीआईबीले जनाएको छ।




































