मकवानपुर। पहिचानको मुद्दालाई राजनीतिक एजेण्डा बनाएर मुख्यधारको राजनीतिमा चुनौती दिँदै आएका शुभ रत्न गोले पछिल्लो समय तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हाल नेपाली कम्युनिस्ट पार्टीमार्फत समाजवादको यात्रामा सक्रिय छन्।
२०६९ सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा(एमाले) बाट विद्रोह गर्दै सङ्घीय समाजवादी पार्टीबाट मकवानपुर क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका गोले पहिचानको मुद्दाका कारण चर्चामा आएका थिए। मकवानपुर जेसिसले हेटौँडाको हुप्राचौरमा आयोजना गरेको उम्मेदवारबीचको ककस कार्यक्रममा प्रस्तुत गरेको स्पष्ट दृष्टिकोण र आत्मविश्वासले उनलाई फरक राजनीतिक पहिचान दिलाएको थियो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका गोलेले ‘जातीय पार्टी’, ‘जनजातिको पार्टी’ र ‘मधेसीको पार्टी’ जस्ता आरोप खेप्दै पनि चुनावी मैदानमा मजबुत उपस्थिति जनाएका थिए। प्रतिकूल परिस्थितिका बाबजुद उनले प्राप्त गरेको मतले हेटौँडाको राजनीतिक समीकरण नै उल्ट्याउन सक्ने क्षमता देखाएको नेपाली कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य सुबोध घलानको भनाइ छ।

जनता समाजवादी पार्टीको बागमती प्रदेश परिषद् अध्यक्षको जिम्मेवारीमा रहेका गोलेले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढ्दै गएको निष्कर्षसहित २०८० साल पौष २० गते आफ्नो सम्पूर्ण टिमसहित नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए। त्यसयता उनी पार्टी संगठन सुदृढीकरणमा सक्रिय छन्।
हाल विभिन्न तहका निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया अगाडि बढिरहेको छ। नेपाली कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य सुबोध घलानले अनुसार शुभ रत्न गोलेको नाम पनि उम्मेदवार सिफारिस सूचीमा समावेश भएको छ। घलानका अनुसार गोले उम्मेदवार बन्ने दौडमा अगाडि देखिएका छन् र पार्टीभित्र उनको सम्भावना बलियो रहेको छ।



































