मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित बेतेघारी टोललाई औपचारिक रूपमा सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । ३७ घरधुरी रहेको बेतेघारीलाई मंगलबार आयोजित विशेष कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले खानेपानी र सरसफाइलाई दिगो रूपमा अघि बढाउन स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए । उनले खानेपानी आम नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै मानव जीवनमा स्वच्छ पानी र सरसफाइको महत्व अपरिहार्य रहेको धारणा राखे ।
गाउँपालिकाले खानेपानी कार्यक्रमलाई दीगो बनाउन विभिन्न संघ–संस्थासँग साझेदारी गर्दै काम गरिरहेको जानकारी दिँदै अध्यक्ष मुक्तानले पानीका ट्यांकी तथा अन्य संरचनाको संरक्षण स्थानीयवासीको साझा दायित्व भएको स्पष्ट पारे । ‘एक घर, एक धारा’ राज्यको नीति अनुसार गाउँपालिका क्रमिक रूपमा टोल र बस्तीमा योजना कार्यान्वयन गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाइ र खानेपानी क्षेत्र नेपाल सरकारको दीगो विकास लक्ष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै आवश्यक पूर्वाधार निर्माणका काम अघि बढिरहेको बताए । सबै वडा र टोलसम्म सफा तथा स्वच्छ अभियान विस्तार गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनले बताए ।
वडा नं. १० का अध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू जुनसरी राई र बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजकी अध्यक्ष मीरा स्याङ्तान, उपाध्यक्ष दलमान गुरुङ, आधारभूत स्वास्थ्य चौकी भाल्टारका प्रमुख सन्तोषकुमार सिंह तथा बेतेघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष आइत सिं स्याङ्बोलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा सरसफाइमा उत्कृष्ट योगदान पुर्याउने स्थानीयवासी, खानेपानी उपभोक्ता समिति तथा अन्य व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।




































