बकैया गाउँपालिकाद्धारा मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले मकै उत्पादक किसानलाई राहत दिने उद्देश्यले मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरेको छ। स्थानीय किसानले उत्पादन गरेको मकैको उचित मूल्य सुनिश्चित गर्न पालिकाले यो व्यवस्था लागू गरेको हो।

पालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार बजारमा मकैको मूल्य समर्थन मूल्यभन्दा तल झरेमा गाउँपालिकाले आफैं तोकिएको मूल्यमा मकै खरिद गर्नेछ। किसानले आफ्नो उत्पादन बकैया–७ हात्तीखोलास्थित कृषि औद्योगिक ग्राममार्फत पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ।

पछिल्लो समय उत्पादन लागतअनुसार मूल्य नपाएको भन्दै किसानबाट गुनासो आउन थालेपछि स्थानीय कृषकको हितलाई ध्यानमा राखेर समर्थन मूल्य निर्धारण गरिएको अध्यक्ष लामिछानेले बताए।

मकवानपुर जिल्लामा भीमफेदी र मकवानपुरगढी गाउँपालिकाले कोदो, फापर र जुनेलोको समर्थन मूल्य तोक्दै आए पनि मकैको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने बकैया पहिलो पालिका बनेको छ।

पालिकाले सञ्चालन गरेको कृषि औद्योगिक ग्राममा पशुपक्षीका लागि आवश्यक दाना, साइलेज तथा प्राङ्गारिक मल उत्पादन हुँदै आएको छ। त्यसका लागि स्थानीय किसानबाट मकैको ढोड र दाना खरिद गरिने गरिएको छ।

क्षेत्रफलका आधारमा जिल्लाकै ठूलो गाउँपालिका बकैयामा मकै प्रमुख बालीका रूपमा उत्पादन हुँदै आएको छ। कृषि विकास शाखाका अनुसार पालिकाभित्र करिब १ सय ४० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ।

यसैबीच, गाउँपालिकाले आफ्नै लगानीमा उत्पादन गरेको साइलेज र पशुदाना किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ। कृषि औद्योगिक ग्राममा शीतभण्डारसमेत सञ्चालनमा रहेको पालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.