हृदयघात अचानक हुने गम्भीर स्वास्थ्य समस्या हो । यस्तो अवस्थामा समयमै सही कदम चाल्न सके बिरामीको ज्यान जोगाउन सकिने चिकित्सकहरू बताउँछन् । विशेषगरी हृदयघात भएको शङ्का लागेपछि सुरुवाती केही मिनेट निकै महत्वपूर्ण हुने भएकाले तत्काल आपत्कालीन चिकित्सा सहायता लिन आवश्यक हुन्छ ।
कसैलाई हृदयघात भएको शङ्का लागेमा पहिले बिरामीलाई आरामदायी अवस्थामा राख्नुपर्छ र तुरुन्तै एम्बुलेन्स वा चिकित्सकीय सहायता बोलाउनुपर्छ । बिरामीलाई एक्लै छाड्नु हुँदैन । आपत्कालीन अवस्थामा औषधि प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । मुटुसम्बन्धी समस्या भएका व्यक्तिले आफ्ना चिकित्सकसँग पहिले नै आपत्कालीन अवस्थामा अपनाउने उपायबारे जानकारी लिनु उपयुक्त हुन्छ ।
हृदयघातका प्रमुख लक्षण
- छातीमा दुखाइ, दबाब वा जकडिएको महसुस हुनु
- दुखाइ बायाँ हात, घाँटी, बङ्गारा, ढाड वा माथिल्लो पेटसम्म फैलिनु
- सास फेर्न गाह्रो हुनु
- अचानक चिसो पसिना आउनु
- चक्कर लाग्नु, अत्यधिक कमजोरी महसुस हुनु वा बेहोस हुनु
हृदयघातको शङ्का हुँदा यी गल्ती नगर्नुहोस्
हृदयघात भएका बिरामीमा घरेलु उपचार प्रयोग गर्नु हुँदैन । बिरामीलाई एक्लै छाड्नुका साथै इन्टरनेटमा फैलिएका अप्रमाणित उपायमा विश्वास गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । ‘जोरजोरले खोक्दा हृदयघात निको हुन्छ’ भन्ने जस्ता अफवाहमा विश्वास गर्नु हुँदैन । त्यस्तै, बिरामीको शरीरमा मालिस गर्ने वा अस्पताल लैजान ढिलाइ गर्ने काम पनि गर्नु हुँदैन ।
छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा हृदयघातसँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल आपत्कालीन चिकित्सा सहायता लिनुहोस् ।एजेन्सी















