हेटौंडा । डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क साउन १५ गतेभित्र नबुझाए खाता रोक्का हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नबुझाउने डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने जनाएको हो। खाता रोक्का भएपछि सेयर कारोबार गर्न पाइने छैन।
सामान्यतया डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र बुझाउनुपर्ने भए पनि यस वर्ष शुल्क बुझाउने समय साउन १५ गतेसम्म थप गरिएको हो। डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्ष १ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। सीडीएससीका अनुसार हाल डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ।
यस्तै, ‘मेरो सेयर’ सेवा प्रयोग गरेबापत वार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। उक्त शुल्कसमेत समयमै बुझाउन सीडीएससीले आग्रह गरेको छ। हाल ‘मेरो सेयर’मा सक्रिय खाताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ।
आईपीओ तथा एफपीओ, हकप्रद सेयरलगायतका सार्वजनिक निष्कासनमा अनलाइन आवेदन दिन ‘मेरो सेयर’ प्रयोग हुँदै आएको छ। दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरणका लागि समेत यही प्रणाली प्रयोग हुन्छ।
घरमै बसेर शुल्क तिर्न सकिने
डिम्याट तथा ‘मेरो सेयर’को नवीकरण शुल्क घरमै बसेर अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सकिन्छ।
यसका लागि पहिले ‘मेरो सेयर’मा लगइन गरी दायाँतर्फ माथि रहेको आफ्नो नाममा क्लिक गर्नुपर्छ। त्यसपछि ‘Account Information’मा रहेको ‘Renew Account’ विकल्प छनोट गर्नुपर्छ।
त्यसपछि भुक्तानीका लागि इसेवा, खल्ती, प्रभु पे, आईएमई पे र एनसीएचएल (कनेक्ट आईपीएस) लगायतका विकल्प देखिन्छन्। आफूले प्रयोग गर्न चाहेको भुक्तानी माध्यम छनोट गरी ‘मेरो सेयर’ र डिम्याट दुवै नवीकरण, वा आवश्यकताअनुसार कुनै एकको नवीकरण गर्न सकिन्छ।
‘मेरो सेयर’ पनि वार्षिक रूपमा नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेका सेवाग्राहीले ‘मेरो सेयर एण्ड डिम्याट’ विकल्प छनोट गरी ‘Proceed’ मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि सम्बन्धित भुक्तानी माध्यमको युजरनेम र पासवर्ड प्रयोग गरी लगइन गरेर रकम भुक्तानी गर्न सकिन्छ।
























