सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

हेटौंडा । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता सहकार्यको सम्भावना खोज्दै सबै दलसँग संवाद र समन्वयलाई निरन्तरता दिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीसहितको बैठकले प्रदेशको वस्तुस्थिति हेरेर सत्ता गठबन्धन निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको हो।

हाल कांग्रेस नेतृत्वमा चार प्रदेश सरकार छन्। मधेसमा कृष्णप्रसाद यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन्। तीमध्ये तत्कालका लागि मधेस र गण्डकीका मुख्यमन्त्रीको पद सुरक्षित देखिए पनि बागमती र सुदूरपश्चिममा भने सत्ता समीकरण परिवर्तनको सम्भावना बढेको छ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच शनिबार साँझ मधेस र गण्डकीबाहेक पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको बताइएको छ। उक्त सहमतिपछि कांग्रेस नेतृत्वमा रहेको बागमती र सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेका हुन्।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेका अनुसार प्रदेशको वस्तुस्थितिअनुसार सत्ता सहकार्यका लागि विभिन्न दलसँग वार्ता र संवाद अघि बढाउने निर्णय भएको छ। केन्द्रबाट अन्य दलसँग संवाद गर्न सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र घिमिरेलाई जिम्मेवारी दिइएको छ।

कांग्रेसले एमाले र नेकपाबीच पाँच प्रदेशमा सत्ता साझेदारी गर्ने सहमति भए पनि ती प्रदेशमा दुई दलको मात्रै सरकार सहज रूपमा बन्न नसक्ने दाबी गरेको छ। कांग्रेसले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने पक्षमा आफू नरहेको जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेशमा एमाले र नेकपाबीच गठबन्धन बने पनि सभामुखले मतदान गर्न नपाउने भएकाले बहुमत नपुग्ने अवस्था रहेको कांग्रेसको निष्कर्ष छ। त्यसकारण त्यहाँ पनि सत्ता समीकरणका लागि प्रयास गर्ने कांग्रेसले जनाएको छ।

बैठकले तत्काल मुख्यमन्त्री तथा मन्त्रीहरूलाई राजीनामा नदिनसमेत संकेत गरेको छ। सत्ता समीकरण जोगाउन सबै पक्षसँग संवाद र प्रयास गर्ने तथा त्यसबाट सम्भव नभएपछि मात्रै राजीनामाको बाटो रोज्ने नीति कांग्रेसले लिएको नेताहरूले बताएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि प्रदेशको वस्तुस्थितिअनुसार सबै दलसँग सत्ता सहकार्यका लागि संवाद र समन्वय गर्ने निर्णय भएको जानकारी दिएका छन्।रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.