स्वस्थ र चम्किलो छालाका लागि मानिसहरूले महँगा सौन्दर्य सामग्रीदेखि विभिन्न घरेलु उपायसम्म अपनाउने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमा नुनपानीले अनुहार धुने उपाय पनि चर्चामा छ।
नुनपानीले अनुहार धुँदा छालाका मृत कोष हटाउन, अतिरिक्त तेल तथा फोहोर सफा गर्न र रोमछिद्र सफा राख्न केही हदसम्म मद्दत पुग्न सक्ने बताइन्छ। तैलीय छाला भएका व्यक्तिले यसबाट केही राहत महसुस गर्न सक्ने सम्भावना पनि हुन्छ।
यद्यपि, नुनपानीको अत्यधिक वा दैनिक प्रयोग भने छालाका लागि हानिकारक हुन सक्छ। नुनले छालाको प्राकृतिक ओसिलोपन कम गर्दा सुख्खापन, जलन, चिलाउने, रातोपन तथा छाला फुट्ने समस्या देखिन सक्छ।
विशेषगरी सुख्खा, संवेदनशील छाला वा एक्जिमा भएका व्यक्तिले नुनपानीको प्रयोगबाट जोगिनु उपयुक्त हुन्छ।
नुनपानी प्रयोग गर्न चाहनेले दैनिक नभई हप्तामा एकदेखि दुई पटकसम्म मात्र प्रयोग गर्न र अनुहारलाई बेस्सरी नघोट्न विशेषज्ञहरूले सुझाव दिएका छन्। अनुहार धोएपछि मोइस्चराइजर प्रयोग गर्न पनि आवश्यक हुन्छ।
नुनपानी प्रयोग गरेपछि जलन, चिलाउने, रातोपन वा अत्यधिक सुख्खापन देखिएमा तत्काल प्रयोग बन्द गर्नुपर्छ। छालासम्बन्धी समस्या भएका व्यक्तिले घरेलु उपाय अपनाउनुअघि छालारोग विशेषज्ञसँग परामर्श गर्नु उपयुक्त हुन्छ।
























