हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तारको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज (बुधवार) सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन। उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि सुनुवाइ रोकिएको हो।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको थियो। रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसकारसहितले दायर गरेको रिट इजलास नम्बर ६ मा सुनुवाइका लागि राखिएको भए पनि अदालतले आज मुद्दा नहेर्ने निर्णय गरेको हो।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा २५/२५ मिटर (हाल २५/२५ गज अर्थात् २२.५ मिटर) भित्र पर्ने संरचना हटाएर सडक विस्तार गर्न लागिएको भन्दै गत मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। निवेदकहरूले कानुनी प्रक्रिया नपुर्याई निजी सम्पत्तिमा हस्तक्षेप गर्न खोजिएको आरोप लगाएका छन्।
रिटमा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ।
यसअघि अदालतले तत्काल संरचना नहटाउन आदेश दिएको थियो। साथै मुद्दासँग सम्बन्धित कागजात झिकाउन पनि आदेश जारी गरिएको थियो। सोही क्रममा आजका लागि सुनुवाइ तय गरिएको भए पनि प्रक्रिया अघि बढ्न सकेन।






















































