हेटौंडा । हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड वितरण गरेको छ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङमार्फत २ सय थान सेनेटरी प्याड हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले महिला पत्रकारहरूको स्वास्थ्य र सशक्तीकरणका लागि सञ्चारिका समूहले सञ्चालन गर्दै आएको अभियानको प्रशंसा गर्दै यस्ता रचनात्मक पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारितामा निष्पक्षता, सत्यता र जिम्मेवारीलाई आत्मसात् गर्न महिला पत्रकारहरूलाई आग्रह पनि गरे।
सञ्चारिका समूह मकवानपुर तथा बागमती प्रदेशकी संस्थापक अध्यक्ष सरिता दाहालले मकवानपुरमा सञ्चारिका समूहको सक्रियता प्रेरणादायी रहेको बताइन्। सञ्चार क्षेत्रमा पुरुष पत्रकारहरूको साथ र सहकार्यले महिला पत्रकारहरूलाई थप आत्मविश्वासी बनाएको उनको भनाइ थियो।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेशकी महासचिव नानीमाया सोपकोटा, रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारी, सञ्चारिका जिल्ला अध्यक्ष निशा गुरुङ, प्रेस चौतारीकी उपाध्यक्ष प्रतिक्षा न्यौपानेलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
१६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान, दोस्रो दिन हेटौंडा–१८ स्थित वेद विद्यालयलाई खाद्यान्न सहयोग गरिएको थियो। यसैक्रममा माघ १९ गते निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद, माघ २० गते मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिनेछ भने माघ २२ गते कार्यक्रमको औपचारिक समापन गरिने रेडियो मकवानपुरले जनाएको छ।
समापन समारोहमा मकवानपुरका दुई व्यक्तिलाई जनही १० हजार रुपैयाँ नगदसहित ‘सामुदायिक सम्मान’ प्रदान गरिनेछ। रेडियो मकवानपुरले प्रत्येक वर्ष वार्षिकोत्सवमा सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई ‘जागरुक महिला सम्मान’ प्रदान गर्दै आएको छ।






















































