नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदै

फोटो रासस

हेटौँडा । नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहितका अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

बिहान १०ः२५ बजे हुने उद्घाटन कार्यक्रममा मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर यातायात सञ्चालनको औपचारिक सुरुवात गर्ने कार्यक्रम छ । उद्घाटनपछि निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

सुरुमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइनेछ । केही दिन पूर्ण परीक्षण सञ्चालन गरेपछि सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गर्दै सबै तोकिएका वर्गका सवारीसाधनका लागि सुरुङमार्ग खुला गरिने जनाइएको छ । परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क नलिइनेछ ।

कुल २ हजार ६८८ मिटर लामो सुरुङमार्गमा नियमित सञ्चालन सुरु भएपछि सवारीसाधनअनुसार शुल्क लाग्नेछ । कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौँतर्फ ११५ रुपैयाँ र बाहिरिने क्रममा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस तथा ठूला ट्रकले काठमाडौँ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

पैदलयात्री, मोटरसाइकल तथा अन्य दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ । पेट्रोल, डिजेल, ग्यासलगायत ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङभित्र प्रवेश निषेध गरिएको छ ।

आयोजनामा मुख्य सुरुङसँगै आपत्कालीन उद्धारका लागि छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ । सुरुङभित्र दमकल, आकस्मिक उद्धार संयन्त्र, सिसिटिभी, सञ्चार प्रणाली, सुरक्षा उपकरण तथा निरन्तर अक्सिजन प्रवाहको व्यवस्था गरिएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकको टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोका कारण हुने समस्या घट्नुका साथै यात्राको समय र इन्धनसमेत बचत हुने अपेक्षा गरिएको छ ।

आयोजनामा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ । निर्माणको जिम्मेवारी जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो ।

निर्माण कार्य ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारीलगायतका कारण आयोजना निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो ।रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.