सिक्किममा हेटौंडा फुटबल एकेडेमीको पहिलो भिडन्त माम्रिङ ब्वाइजसँग

हेटौंडा । सिक्किममा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा सहभागी हुन हेटौंडा फुटबल एकेडेमी मकवानपुरको टोली भारतको सिक्किमतर्फ प्रस्थान गरेको छ । स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा मकवानपुर र नेपालको प्रतिनिधित्व गर्दै एकेडेमीको २५ सदस्यीय टोली आइतबार सिक्किमतर्फ गएको हो ।

एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाका अनुसार टोलीले सिक्किममा १५ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता, १० लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता, गत वर्ष उपाधि जितेको मुनसोङको ८०औँ स्वतन्त्रता दिवस फुटबल प्रतियोगितालगायत विभिन्न प्रतियोगितामा सहभागिता जनाउनेछ ।

टोलीले पहिलो खेल साउन १५ गते मुनसोङमा हुने ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा घरेलु टोली माम्रिङ ब्वाइजसँग खेल्नेछ । यस्तै, साउन १८ गते सीतादेवी शर्मा स्मृति फुटबल प्रतियोगितामा सिक्किम पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

मुनसोङमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने सीतादेवी शर्मा स्मृति फुटबल प्रतियोगिताको पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको छ ।

एकेडेमीको टोलीमा २० जना खेलाडीसहित अफिसियल, टिम म्यानेजर र प्रशिक्षक गरी २५ जना छन् । टोली आइतबार राति हेटौंडाबाट झापाको काँकडभिट्टा पुगेको र सोमबार पानीटंकी हुँदै सिक्किम पुग्ने प्रशिक्षक लामाले जानकारी दिए ।

सिक्किमका प्रतियोगितामा सहभागी हुन टोलीलाई ए डिभिजनका खेलाडी कृशल मोक्तान र काठमाडौंस्थित मनास्लु वर्ल्ड कलेजका गेन्द्र लामाले जर्सी तथा खेल पोसाक सहयोग गरेका छन् । यस्तै, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी र हिमालयन कफी बारिष्टा एन्ड तालिम सेन्टरका सञ्चालक रन्विर मगरले नगद ५ हजार रुपैयाँ तथा सोही मूल्य बराबरको जुराफ सहयोग गरेका छन् ।

जीएस निकेतन बोर्डिङका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले पनि एकेडेमीलाई ४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

हेटौंडा फुटबल एकेडेमी विगत तीन वर्षदेखि सिक्किममा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । पहिलो सहभागितामा उपविजेता बनेको एकेडेमी त्यसपछि लगातार दुई पटक विजेता बनेको थियो ।

गत वर्ष मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा भएको ७९औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले पराजित गर्दै हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.