मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा अग्रता लिएको छ।
अहिले दुवै क्षेत्रमा मतगणना जारी रहेको छ। हेटौंडा उपमहानगरपालिका–२ मा ३ हजार ४ सय ४८ मत गणना हुँदा घण्टी चिन्हले तेब्बर अग्रता बनाएको छ। प्राप्त मतअनुसार घण्टीले १ हजार ८ सय ४७ मत ?पाएको छ। त्यसपछि रुखले ६ सय ५६ मत र सूर्यले २ सय ८५ मत पाएका छन्।
त्यसैगरी मनहरी गाउँपालिका–८ र ९ को मतगणनाअनुसार पनि घण्टीले अग्रता कायम गरेको छ। त्यहाँ घण्टीले १ हजार ६ सय ३० मत प्राप्त गरेको छ भने रुखले ६ सय १६ मत र सूर्यले ५ सय १२ मत पाएका छन्।
अन्य चिन्हतर्फ तारा २ सय ७१, चिम ८६, गुलाफ ५, माटो ५५, हलो ९२, आँखा ३, ट्रफी १४, भाले ११ र नेमकिपाले १ मत पाएका छन्।
साथै १ सय ९३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैबीच मकवानपुरमा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको थियो, जुन करिब ५९ प्रतिशत हो।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदातामध्ये ९५ हजार ३ सय १० मत खसेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदातामध्ये ९१ हजार २ सय ४१ मत खसेको थियो। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।















