नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमसहित अधिकांश पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका धेरै स्थानमा मौसम अझै सफा देखिएको छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइसकेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा बादल बाक्लिने सम्भावना छ। केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति भने हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
मौसमविद्हरूले सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।






















































