हेटौंडा । आफ्नो १५औँ स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले १४० जना विद्यार्थीलाई विद्यालय झोला तथा खाद्यान्न सामग्री वितरण गरेको छ। संस्थाले अभिभावकविहीन ११ जना विद्यार्थीको शैक्षिक अभिभावकत्व बहन गर्ने घोषणा समेत गरेको छ।
मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामाले शिक्षा क्षेत्रमा केन्द्रित यस्ता सामाजिक अभियानले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले निजी क्षेत्रका व्यवसायिक संस्थाहरूले नाफामुखी गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सहकार्य र सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रिन, विद्यालयका प्रधानाध्यापक केशव देवकोटा, महासंघका केन्द्रीय सदस्य नवराज चौलागाईं, संस्थाका पूर्व अध्यक्ष दिनेशलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष न्यौपानेले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी प्रत्यक्ष रूपमा विद्यार्थी र समुदायलाई लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले आर्थिक तथा पारिवारिक रूपमा कठिन परिस्थितिमा रहेका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ११ जना अभिभावकविहीन विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने निर्णय गरिएको बताए।
मोबाइल व्यवसायी तथा संस्थाका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले शिक्षा र सामाजिक सेवाप्रति संस्थाको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

















