मकवानपुरमा नेकपाको चुनावी कार्ड सार्वजनिक, १ मा विजय गौतम र २ मा लवशेर विष्ट मैदानमा

 प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले मकवानपुर–१ बाट विजय गौतम र मकवानपुर–२ बाट लवशेर विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मकवानपुर–१ बाट उम्मेदवार बनेका विजय गौतम पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन्। विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका गौतम आन्दोलन र संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता मानिन्छन्। उनी पूर्वमाओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत रहिसकेका छन्। साथै, नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गौतम उनका स्वकीय सचिव थिए।

बकैया गाउँपालिकाका स्थायी बासिन्दा गौतमको प्रभाव बागमती र बकैया गाउँपालिकामा तुलनात्मक रूपमा राम्रो देखिन्छ। तर, हेटौंडा उपमहानगर क्षेत्र भने नेकपाका लागि चुनौतीपूर्ण मानिन्छ। यस क्षेत्रबाट अघिल्ला निर्वाचनमा गठबन्धनका कारण नेकपाले आफ्ना उम्मेदवार नउठाई अन्य दलका उम्मेदवारलाई समर्थन गरेको इतिहास छ।

यता मकवानपुर–२ बाट उम्मेदवार बनेका लवशेर विष्ट राजनीतिक रूपमा फरक पहिचान बोकेका नेता हुन्। उनी दिवंगत रुपचन्द्र विष्ट ‘रुदाने’का विचारबाट प्रभावित मानिन्छन्। विष्ट २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा भने कुनै पदमा उम्मेदवार बनेका थिएनन्।

मेयर रहँदा विकास निर्माण र सेवाप्रवाहमा देखाएको कार्यशैलीका कारण विष्टको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ। मकवानपुर–२ अन्तर्गत पर्ने थाहा नगरपालिका, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा नेकपाको संगठन सुदृढ मानिन्छ। यद्यपि मनहरी, राक्सिराङ र मकवानपुरगढी क्षेत्र भने पार्टीका लागि कमजोर आधार क्षेत्रका रूपमा हेरिन्छन्।

दुवै क्षेत्रमा फरक पृष्ठभूमिका उम्मेदवार अघि सार्दै नेकपाले मकवानपुरमा नयाँ राजनीतिक सन्तुलन बनाउने प्रयास गरेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.