शेरबहादुर देउवा चुनावी राजनीतिबाट विश्राम

२०४८ सालदेखि २०७९ सम्म डडेल्धुराबाट लगातार प्रत्यक्ष निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सक्रिय निर्वाचन राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। कांग्रेसको विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देउवा आगामी निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्। “नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,” उनले लेखेका छन्।

डडेल्धुराबाट लगातार सातपटक निर्वाचन जित्ने देउवा नेपाली राजनीतिमा यस्तो कीर्तिमान कायम गर्ने एक मात्र नेता हुन्। उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा सोही क्षेत्रबाट जित हासिल गरेका थिए। २०५१ को मध्यावधि निर्वाचन तथा २०६४ र २०७० का संविधानसभा निर्वाचनबाहेक बाँकी सबै प्रतिनिधिसभाका निर्वाचन थिए।

२०४८ सालमा पहिलोपटक आमनिर्वाचन जित्दा देउवाले २४ हजार ५७० मतसहित फराकिलो जित निकालेका थिए। २०५१ को मध्यावधिमा मत घटे पनि उनी २० हजार ७०१ मतसहित विजयी बने। २०५६ सालको निर्वाचन देउवाका लागि झन सहज रह्यो, जहाँ उनले २८ हजार ६५१ मत प्राप्त गरे।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने देउवाको जित चुनौतीपूर्ण रह्यो। शान्ति प्रक्रियापछि उदाएको माओवादीको बलियो उपस्थितिका बीच देउवाले झिनो १ हजार ३६८ मतान्तरले विजय हासिल गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले फेरि मतान्तर बढाउँदै सहज जित निकाले।

२०७४ सालमा वाम गठबन्धन बने पनि देउवाको अपराजित यात्रा रोकिएन। उनले ६ हजार ९४८ मतान्तरले विजय पाए। २०७९ सालको निर्वाचनमा पनि देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकालसहितका प्रतिस्पर्धीलाई पछि पार्दै १२ हजारभन्दा बढी मतान्तरले जित हात पारेका थिए।

सातपटक लगातार निर्वाचन जितेका देउवा पाँचपटक प्रधानमन्त्री बनेका छन्। २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री बनेका देउवाले जम्मा ५ वर्ष ७ महिना ७ दिन देशको कार्यकारी नेतृत्व सम्हाले। यद्यपि, पाँचपटक प्रधानमन्त्री हुँदा पनि उनले कुनैपटक पूर्ण कार्यकाल पूरा गर्न पाएनन्।

पछिल्लोपटक सत्ता समीकरणका कारण देउवा पुनः प्रधानमन्त्री बन्ने चर्चामा थिए। तर, भदौमा भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणाले राजनीतिक अवस्था फेरियो। त्यहीबीच कांग्रेसमा विशेष महाधिवेशन भएर नेतृत्व परिवर्तन भयो र निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवाको अन्तिमपटक डडेल्धुराबाट चुनाव जित्ने चाहना अधुरै रह्यो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.