प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता आज देशभर सुरु हुँदैछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्न लागेको हो।
आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ। उम्मेदवारी दर्ताको क्रममा हुने सम्भावित भीडभाड कम गर्न तथा प्रक्रिया सहज बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारका लागि निश्चित समयसमेत तोकेको छ।
यसअघि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक प्रणालीमार्फत र १६५ सदस्य प्रत्यक्ष प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ। वि.सं. २०७९ मा गठन भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।
आयोगका अनुसार उम्मेदवारले मनोनयन दर्ताका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ। सरकारी, प्रदेश वा स्थानीय तहमा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको प्रमाण अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
राजनीतिक दलबाट उम्मेदवारी दिनेले सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी गरिएको औपचारिक मनोनयनपत्र पेस गर्नुपर्ने व्यवस्था छ। साथै उम्मेदवारले स्वघोषणा पत्र, चल तथा अचल सम्पत्तिको विवरण, बैंक खाता, सेयर र ऋणसम्बन्धी विवरण शिलबन्दी रूपमा बुझाउनुपर्नेछ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ। आर्थिक रूपमा विपन्न भएको पुष्टि सम्बन्धित स्थानीय तहको सिफारिसबाट गर्नुपर्नेछ।
यसका अतिरिक्त उम्मेदवारले लिएको पेस्की फछ्र्योट गरेको प्रमाण, लेखापरीक्षणबाट देखिएको बेरुजू फछ्र्योट गरेको निस्सा तथा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रसमेत बुझाउनुपर्नेछ। तोकिएका सबै कागजात पूरा नभए उम्मेदवारी अमान्य हुन सक्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।




































