१ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो, उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म एक करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार थान मतपत्र छापिएको हो। निर्वाचनका लागि कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।

त्यसैगरी हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ। पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस मतपत्र प्याकिङ भएको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ। यसका साथै एक करोड ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकिएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिनेछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।

त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय तोकिएको थियो। सोही दिन उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। तीमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला तथा अन्य एक जना रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो।

उल्लेखनीय छ, कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.