प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको उम्मेदवारी कायम रहेको छ। निर्वाचन अधिकृतको कार्यालयले तामाङको उम्मेदवारी अन्तिम नामावलीमा समावेश गरिएको जनाएको छ।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार, शुक्रबार तामाङ स्वयं कार्यालयमा उपस्थित भई उम्मेदवारीसँग सम्बन्धित उठेका प्रश्नहरूबारे स्पष्ट पारेकी थिइन्। सो क्रममा उनले उम्मेदवारी फिर्ता नलिने स्पष्ट बताएपछि उम्मेदवारी कायम गर्ने निर्णय गरिएको हो।
“शुक्रबार उहाँ आफैं कार्यालयमा उपस्थित हुनुभयो। केही विषयमा प्रस्ट पार्नुभयो र उम्मेदवारी फिर्ता नलिने बताउनुभयो,” अधिकारीले भने, “त्यसकै आधारमा उहाँको उम्मेदवारी कायम गर्ने निर्णय गरी नाम प्रकाशित गरिएको हो।”
यससँगै धादिङ–१ मा रास्वपाको तर्फबाट आशिका तामाङको उम्मेदवारी औपचारिक रूपमा कायम रहेको निर्वाचन कार्यालयले पुष्टि गरेको छ।






















































