नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता चालिसेले बताए।
कांग्रेसले मुलुकको वर्तमान विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने उद्देश्यसहित यो निर्णय लिइएको स्पष्ट पारेको छ। उपसभापति शर्माले सभापति थापा परिवर्तित समय र जनभावनालाई ‘डाइनामिक’ ढंगले नेतृत्व गर्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्।
“जुझारु र बिद्रोही छवि मात्रै होइन, प्रतिकूल परिस्थितिमा संयम राखेर विषयलाई परिपक्व ढंगले समाधान गर्ने क्षमता पनि गगन थापासँग छ,” शर्माले भने, “उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ, न दीर्घकालीन।”
उनले संयम, सौम्यता र सन्तुलनलाई अघि बढाउने नेतृत्व क्षमता थापासँग रहेको उल्लेख गर्दै भने, “यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रूपमा हाम्रो सभापतिबाट हुन सक्छ भन्नेमा हामी दृढ छौं।”






















































