जलवायु परिवर्तनको बढ्दो प्रभावबीच नेपालको कृषि क्षेत्रलाई अनुकूल बनाउन तयार गरिएको डिजिटल नक्सा सार्वजनिक गरिएको छ। कृषि क्षेत्र, विगतको मौसम विवरण र जलवायुसँग सम्बन्धित तथ्याङ्क समेटेर तयार पारिएको यो नक्सालाई भविष्यको कृषि योजनाका लागि महत्वपूर्ण उपकरणका रूपमा हेरिएको छ।
काठमाण्डौमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले डिजिटल नक्सा सार्वजनिक गर्दै यसले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका जोखिम पहिचान गर्न र समाधान खोज्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार जलवायु परिवर्तनको असर कम गर्न अपनाउन सकिने उपाय पहिचानमा नक्सा उपयोगी हुनेछ।
कार्यक्रममा बोर्लाग इन्स्टिट्यूट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका वैज्ञानिकको सहकार्यमा तयार गरिएको यो नक्सा क्षेत्रीय स्तरकै नयाँ प्रयास भएको बताउनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले डिजिटल नक्साले कृषि बाली र पशुपन्छी क्षेत्रका लागि आवश्यक नीति निर्माणमा सहयोग पुग्ने र जलवायु मैत्री प्रविधि विस्तारमा टेवा पुर्याउने धारणा राख्नुभयो।
कार्यक्रम आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलका अनुसार नक्साले जलवायु अनुकूलन योजना निर्माण, जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह, शैक्षिक अध्ययन र विभिन्न संस्थागत निर्णय प्रक्रियामा उपयोगिता राख्नेछ।
नक्साको सञ्चालन र प्रयोगबारे नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले प्रस्तुति दिएका थिए। राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो नक्सा ‘डिजिटल नेपाल’ को लक्ष्यतर्फ नार्कको अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।
डिजिटल नक्साले मुख्य ८ वटा कृषि बाली र ५ वटा पशुपन्छीलाई समेटेको छ। स्थान र समयअनुसार उपयुक्त प्रविधि छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नक्साबारे थप जानकारी aana.narc.gov.np मा उपलब्ध छ।



































