प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम गरेको छ। आज बिहान ५ः३० बजेसम्म सार्वजनिक भएको नतिजाअनुसार रास्वपाले ९१ निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने थप ३४ क्षेत्रमा अग्रस्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ११७ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हात पारेको छ र तीन क्षेत्रमा अग्रता कायम राखेको छ। नेकपा (एमाले)ले सात स्थानमा जित निकाल्दा चार क्षेत्रमा अगाडि रहेको छ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा उनीहरू अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक क्षेत्रमा जित हासिल गरेका छन्। श्रम संस्कृति पार्टीका तीन उम्मेदवार भने हाल अग्रस्थानमा रहेका छन्।
समानुपातिकतर्फको अवस्था
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा पनि उल्लेख्य प्रगति भएको छ। हालसम्म १९ लाख ४५ हजार १५५ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
यसतर्फ रास्वपाले १० लाख ३ हजार १७५ मत प्राप्त गर्दै अग्रता लिएको छ। नेपाली कांग्रेसले तीन लाख ३० हजार ७२८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले दुई लाख ६३ हजार ५८२ मत पाएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेको आयोगले जनाएको छ।















