मकवानपुरमा प्रतिनिधिसभा चुनावपछि ३५ उम्मेदवारको धरौटी जफत

मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ। आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ। सोही प्रावधान अनुसार आवश्यक मत नपुग्दा ती उम्मेदवारको धरौटी जफत गरिएको हो।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९० हजार ७२५ मत सदर भएको थियो। यस क्षेत्रमा धरौटी जोगाउन कम्तीमा ९ हजार ७३ मत आवश्यक पर्ने भए पनि १८ जना उम्मेदवारले उक्त मत प्राप्त गर्न सकेनन्। धरौटी गुमाउनेमध्ये ८ जना राजनीतिक दलका र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

यसै क्षेत्रबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वसांसद दीपकबहादुर सिंहले ४ हजार ५७४ मत प्राप्त गरे पनि धरौटी जोगाउन सकेनन्। श्रम संस्कृति पार्टीकी उम्मेदवार विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेकी छन् भने अन्य धेरै उम्मेदवारले सयभन्दा कम मत प्राप्त गरेका छन्।

त्यस्तै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा ८५ हजार ६१९ मत सदर भएको थियो। धरौटी जोगाउन ८ हजार ५६२ मत आवश्यक पर्ने भए पनि १७ जना उम्मेदवारले सो मत ल्याउन सकेनन्। तीमध्ये १२ जना विभिन्न राजनीतिक दलका र ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

निर्वाचन परिणामअनुसार मकवानपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी भएका छन्।

  1. यसपटक मकवानपुरको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जना गरी कुल ४४ जनाले उम्मेदवारी दिएका थिए।
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.