हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र न्यू डाइमण्ड क्लब विजयी भएका छन्।
पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जनशक्ति युवा क्लब (मधेश प्रदेश) लाई ३–० को सोझो सेटमा पराजित गर्यो। प्रतिष्ठानले २५–१०, २५–१० र २५–१३ को सहज जित निकाल्दै उत्कृष्ट प्रदर्शन देखायो।
दोस्रो खेलमा न्यू डाइमण्ड क्लबले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हरायो। डाइमण्डले २५–६, २५–६ र २५–११ को फराकिलो अन्तरमा जित हासिल गर्यो। यससँगै मकवानपुर टोली प्रतियोगिताबाट बाहिरिएको छ, किनकि उद्घाटन खेलमा पनि लुम्बिनी प्रदेशको स्टेप भलिबल टोलीसँग पराजित भएको थियो।
शुक्रबार हुने खेलमा न्यू डाइमण्ड क्लब र स्टेप भलिबल क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र ब्राइट फ्युचर स्पोर्ट क्लब भिड्नेछन्।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत यो प्रतियोगिता बुधबारदेखि सुरु भएको हो। प्रतियोगितामा ६ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरी खेलाइएको छ। समूहका विजेता र उपविजेता टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
चैत्र ८ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमीफाइनलमा पराजित हुने टोलीहरूले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।























































