बहुमतको दाबी लिएर आए सरकार छाड्न तयार छु : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दलले बहुमत जुटाएर सरकार गठनको दाबी गरे आफू तत्काल मार्गप्रशस्त गर्न तयार रहेको बताएका छन् ।

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले दुई वा दुईभन्दा बढी दलले आफूहरूसँग बहुमत रहेको दाबी प्रस्तुत गरे राजनीतिक संस्कारअनुसार आफूले सरकार छाड्ने स्पष्ट पारे ।

‘कुनै दुई वा दुईभन्दा बढी दलले हामीसँग गणपूरक संख्या छ भनेर दाबी गरेर आएको अवस्थामा मार्गप्रशस्त गरिदिने राजनीतिक संस्कार छ,’ उनले भने, ‘म अडिएर, अड्किएर बस्ने मान्छे होइन ।’

मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठनको स्पष्ट आधार नबनेसम्म ठूलो दलको हैसियतमा सरकारका कामकारबाही अघि बढाउने बताए ।

आफू अल्पमतमा परेको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले हालसम्म कुनै पनि दलसँग स्पष्ट बहुमत नरहेको दाबी गरे । ठूलो दलका रूपमा आफूले अझै बहुमत जुटाउन सक्ने सम्भावना कायम रहेको उनको भनाइ थियो ।

वाम गठबन्धन बनेकै आधारमा सरकार गठन हुने हो कि होइन भन्ने प्रश्न गर्दै उनले प्रदेशसभाको गणपूरक संख्या र बहुमतको वास्तविक अवस्था हेर्नुपर्ने बताए ।

मुख्यमन्त्री बानियाँले सत्ता जोगाउनेभन्दा लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.