हेटौंडा/ हेटौंडा अस्पतालमा डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अस्पताल प्रशासनलाई सुधारका लागि कडा निर्देशन दिएका छन्।
बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको हेटौंडा अस्पतालको आकस्मिक अनुगमनका क्रममा केही जिम्मेवार चिकित्सक तथा कर्मचारी डिउटीमा नभेटिएपछि मुख्यमन्त्री बानियाँ असन्तुष्ट देखिएका थिए।
अनुगमनलगत्तै उनले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गरेका छन्। छलफलमा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भिमसागर गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्का सहभागी थिए।
मुख्यमन्त्री बानियाँले डिउटी समयमा अनुपस्थित हुने प्रवृत्ति दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएका छन्। “बिरामी सेवामा लापरबाही सह्य हुँदैन,” उनले भने, “गैरजिम्मेवार कर्मचारी र प्रशासनमाथि प्रदेश सरकार कारबाही गर्न बाध्य हुनेछ।”
उनले बिदामा बस्दा एक दिनअघि जानकारी गराउन, बिरामी सेवामा असर नपर्ने गरी डिउटी व्यवस्थापन गर्न तथा अनिवार्य रूपमा पोसाक लगाउन निर्देशन दिएका छन्। साथै अस्पताल परिसरको सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीका अनुसार अब अनुगमनलाई नियमित बनाइनेछ र सेवा प्रवाहमा अपेक्षित सुधार नआए थप कडाइ गरिनेछ।
























































