हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार विजय गौतमले ‘ग्रेटर हेटौँडा चक्रपथ’ निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएको बताएका हुन्।
गौतमले भ्रष्टाचार, कमिसनखोरी र तस्करीजस्ता विकृतिको अन्त्य गर्दै स्थिर तथा जवाफदेही सरकार निर्माण गर्ने प्रतिबद्धता जनाए। हेटौँडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने पहल, कर्रा, राप्ती र बागमती नदी करिडोर निर्माण, ग्रामीण सडक स्तरोन्नति तथा वर्षैभरि सञ्चालनयोग्य सडक विस्तार योजना उनको प्राथमिकतामा परेका छन्।
राजमार्ग विस्तारबाट प्रभावित नागरिकलाई उचित मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउने, प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने तथा ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्य उनले अघि सारे। सबै वडामा इन्टरनेट सेवा विस्तार र एकीकृत नमुना बस्ती विकास कार्यक्रम पनि घोषणापत्रमा समावेश छन्।
सुशासन प्रवर्द्धनका लागि डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण र जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ।
कृषि क्षेत्रमा गढी, बकैया, बागमती र हेटौँडाका विभिन्न स्थानमा व्यावसायिक कृषि जोन विकास, सिँचाइ विस्तार तथा पशुपालन प्रवर्द्धनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। उद्योगतर्फ हेटौँडा औद्योगिक क्षेत्र विस्तार, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन तथा साना–घरेलु उद्योग प्रवर्द्धनलाई जोड दिइएको छ।
पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको विकास र होमस्टे प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, प्राविधिक शिक्षा केन्द्र स्थापना तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ।
सामाजिक समावेशीतर्फ युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोष वृद्धि र ‘एक वडा एक महिला उद्यम’ कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ।
यसैगरी बाढी–पहिरो नियन्त्रण, चुरे संरक्षण, हरित ऊर्जा प्रवर्द्धन र लालपुर्जा समस्याको समाधानलाई पनि उच्च प्राथमिकतामा राखिएको गौतमले बताएका छन्।























































