हेटौंडा । केन्द्रीय सत्तासमीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ। सोमबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकारमै रहने निष्कर्ष निकालेको हो।
यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको चर्चा भए पनि पछिल्लो राजनीतिक घटनाक्रमपछि उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने रणनीति अपनाएको छ।
बैठकपछि बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले सञ्चारमाध्यममा आएका राजीनामासम्बन्धी समाचारलाई हल्ला मात्र भएको बताउँदै पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारे। उनका अनुसार केन्द्रमा वर्तमान गठबन्धनको भविष्यबारे छलफल जारी रहेकाले प्रदेश तहमा पनि अन्तिम निर्णय रोकिएको हो।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै हतारमा निर्णय नगर्ने सहमति भएको बताए। केन्द्रको निर्देशन, अन्य दलसँगको संवाद र विकसित राजनीतिक अवस्थाको मूल्यांकनपछि मात्रै सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गरिने उनले बताए।
केन्द्रीय तहमा कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट एमालेका ६ मन्त्री बाहिरिने तयारीमा थिए। तर, अन्तिम समयमा केन्द्रबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरूले पदबाट राजीनामा बुझाएका थिएनन्।
हाल बागमती प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। केन्द्रमा सत्ता समीकरण फेरिए पनि प्रदेश सरकारको भविष्यबारे भने अझै औपचारिक निर्णय सार्वजनिक भएको छैन। कांग्रेस, एमाले र नेकपाबीच सम्भावित नयाँ राजनीतिक समीकरणबारे छलफल जारी रहे पनि बागमतीमा सरकारको अवस्था यथावत् रहेको छ।-नयाँ पत्रिकाबाट साभार ।
























