हेटौंडा । बागमती प्रदेशमा यातायातसम्बन्धी अधिकांश सेवा केही समयका लागि बन्द हुने भएका छन्। यातायात क्षेत्रका प्रणालीमा प्राविधिक सुधार र नयाँ करका दर समायोजनको काम भइरहेकाले अत्यावश्यक सेवाबाहेकका सेवा अस्थायी रूपमा स्थगित गरिएको हो।
प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले सोमबार सूचना जारी गर्दै यातायात व्यवस्था विभाग, मीनभवनको सूचनाअनुसार डेटाबेस माइग्रेसन तथा प्रदेश सरकारले निर्धारण गरेका नयाँ करका दर प्रणालीमा प्रविष्टि र मिलानको काम भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्राविधिक कार्य पूरा गर्न करिब एक साता लाग्ने अनुमान गरिएको छ। सो अवधिसम्म अत्यावश्यकबाहेकका यातायातसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने जनाइएको छ।
मन्त्रालयले सेवाग्राहीलाई आवश्यक कामको योजना सोहीअनुसार बनाउन र सेवा पुनः सञ्चालनसम्बन्धी अर्को सूचना कुर्न आग्रह गरेको छ।
























