ललितपुर–३ मा २४ घण्टा एआई सेवा, फोनबाटै वडाका सेवा र गुनासा दर्ता गर्न सकिने

ललितपुर महानगरपालिका–३ ले नागरिकका गुनासा सम्बोधन गर्न तथा वडाबाट उपलब्ध हुने सेवाबारे जानकारी दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ ।

स्थानीय तहमा सेवा प्रवाह र सञ्चारलाई सहज बनाउने उद्देश्यले नेपालमै पहिलोपटक वडा तहमा यस्तो प्रविधिको प्रयोग गरिएको दाबी गरिएको छ ।

नयाँ प्रविधिमार्फत वडावासीले वडाको भौगोलिक अवस्था, भौतिक संरचना, सांस्कृतिक सम्पदा, जनसङ्ख्या तथा वडा कार्यालयबाट उपलब्ध हुने विभिन्न सेवा र सिफारिसका प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।

त्यस्तै, वडा कार्यालय वा जनप्रतिनिधिसँग सम्बन्धित गुनासा पनि एआईमार्फत २४ घण्टा दर्ता गराउन सकिने व्यवस्था गरिएको छ । प्रणालीले जनप्रतिनिधि तथा वडासँग सम्बन्धित विभिन्न जानकारीसमेत उपलब्ध गराउनेछ ।

वडाध्यक्ष गोपाल महर्जनका अनुसार सूचना प्रविधि कम्पनी ब्लु ओभलको प्राविधिक सहकार्यमा एआई प्रणाली विकास गरिएको हो । नागरिकले ०१–५९७००७५ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन वा गुनासा दर्ता गराउन सक्नेछन् ।

वडाध्यक्ष महर्जनले वडाबाट प्रदान हुने सेवाका लागि आवश्यक प्रक्रिया र कागजातबारे समेत एआई नम्बरमा फोन गरेर जानकारी लिन सकिने बताए । उनका अनुसार वडाभित्रका सम्पदा, विद्यालय तथा अन्य भौतिक संरचनाबारे पनि एआईले जानकारी दिनेछ ।

यससँगै सामान्य जानकारी र सोधपुछका लागि सेवाग्राहीले वडा कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुने र भौतिक रूपमा उपस्थित हुनुपर्ने कामका लागि मात्र कार्यालय आउनुपर्ने वडाको अपेक्षा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.