हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको ८७ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ।
मंगलबार हेटौँडा–२ स्थित जिल्ला अदालत मकवानपुरले सञ्चारकर्मीसँग वार्षिक प्रगति प्रस्तुत गर्दै गत आर्थिक वर्षभरिका न्यायिक तथा प्रशासनिक गतिविधिको विवरण सार्वजनिक गरेको हो।
अदालतका श्रेस्तेदार रोशी भण्डारीले प्रस्तुत गरेको विवरणअनुसार गत आर्थिक वर्षमा अदालतमा जिम्मेवारी सरेका १ हजार २४३ र नयाँ २ हजार ३९३ गरी कुल ३ हजार ६३६ मुद्दा दर्ता भएका थिए।
अदालतले २ हजार ६४१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकोमा २ हजार ३१४ वटा मुद्दा टुंग्याउँदै ८७ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। फछ्र्योट भएका मुद्दामध्ये जिम्मेवारीतर्फका ९९१ र नयाँ दर्तातर्फका १ हजार ३२३ वटा रहेका छन्।
बाँकी मुद्दामध्ये १८ महिनाभित्रका १ हजार १९५ र १८ महिनादेखि २ वर्षभित्रका २७ वटा मुद्दा रहेको अदालतले जनाएको छ।
मेलमिलापतर्फ ८८९ वटा मुद्दा पठाउने लक्ष्य रहेकामा २६८ वटा मुद्दा मेलमिलाप प्रक्रियामा पठाइएको छ। त्यस्तै, अन्तरिम क्षतिपूर्तितर्फ २५ हजार रुपैयाँ र अन्तिम क्षतिपूर्तितर्फ २२ लाख ४५ हजार ८१९ रुपैयाँ भराउन अदालत सफल भएको जानकारी दिइएको छ।
फैसला कार्यान्वयनतर्फ ६१ दशमलव ४० प्रतिशत, कैदतर्फ २७ दशमलव ७७ प्रतिशत र जरिवाना असुलीतर्फ ८७ प्रतिशत प्रगति हासिल भएको अदालतले जनाएको छ।
विषयगत रूपमा हेर्दा गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका सबैभन्दा धेरै ८७५ वटा नयाँ मुद्दा दर्ता भएका छन्। त्यसपछि अंश दर्ता तथा चलनका ३०४, लागूऔषधका २३९, लेनदेनका १९२, बैंकिङ कसुरका ११९ र जबर्जस्ती करणीका ४६ वटा नयाँ मुद्दा दर्ता भएको तथ्यांक सार्वजनिक गरिएको छ।
कार्यक्रममा जिल्ला अदालत मकवानपुरकी न्यायाधीश गीता श्रेष्ठले न्याय सम्पादनलाई छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रयासलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइन्।
कार्यक्रममा जिल्ला अदालतका न्यायाधीशहरू शकुन्तला कार्की, पूर्णिमा कोइराला र निर्मला शर्मा सुवेदीलगायतको उपस्थिति रहेको थियो।














