हेटौंडा । भारतको सिक्किममा आयोजना हुने स्वतन्त्र दिवस फुटबल प्रतियोगितामा सहभागी हुन जाने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई तीन संस्थाले सहयोग गरेका छन्।
हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, सोसियल एन्ड साइन्स कलेज, हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतन (जीएस) बोर्डिङ र हेटौंडा–२, कान्तिराजपथस्थित हिमालय कफी बारिस्टा एन्ड तालिम सेन्टरले टोलीलाई सहयोग गरेका हुन्।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले रु ५ हजार नगद, जीएस बोर्डिङका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले रु ४ हजार नगद तथा हिमालय कफी बारिस्टा एन्ड तालिम सेन्टरका सञ्चालक रणवीर मगरले रु ५ हजार बराबरका २५ थान जर्सी/मोजा सहयोग गरेका छन्।
एकेडेमीका सहायक टिम म्यानेजर रशिष आले मगर र प्रशिक्षक भीम लामाको प्रस्तावपछि सहयोग प्राप्त भएको जनाइएको छ। यसअघि ए डिभिजन खेलाडी कृशल मोक्तान र काठमाडौं कलेजका गेन्द्र लामाबाट समेत टोलीलाई जर्सी तथा कट्टु सहयोग प्राप्त भएको थियो।
हेटौंडा फुटबल एकेडेमी विगत तीन वर्षदेखि सिक्किममा आयोजना हुने इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ। पहिलो सहभागितामा उपविजेता बनेको एकेडेमी त्यसपछिका दुई संस्करणमा लगातार विजेता बनेर रु १ लाख नगद पुरस्कार जितिसकेको छ। गत वर्ष मुनसोङमा भएको फाइनलमा आदर्श युथ क्लब सिङ्ताङलाई ४–१ गोलले पराजित गर्दै हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेको थियो।
प्रतियोगितामा सहभागी हुन एकेडेमीको टोली आइतबार साँझ सिक्किम प्रस्थान गर्नेछ।
























