आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि देशभर जारी चिकित्सक आन्दोलन अन्त्य भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला, गृह तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका शीघ्र तयार गरिने र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण तथा तोडफोडका घटनामा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने सहमति भएको छ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयबीच समन्वय बढाइने, नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन गरिने तथा सुरक्षा कार्ययोजनाको कार्यान्वयन नियमित रूपमा समीक्षा गर्ने सहमतिमा उल्लेख छ।
सहमतिपछि आन्दोलनका कारण प्रभावित स्वास्थ्य सेवा पुनः नियमित सञ्चालनमा आउने भएको छ भने सरकारले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास चिकित्सक पक्षले व्यक्त गरेको छ।















