हेटौंडा । मकवानपुरको हेटौंडा–१ चाइनागेट अगाडि महेन्द्र राजमार्गमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनामा स्कुटरमा सवार आमा र छोरा घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब ९:१५ बजे बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प २७९१ नम्बरको स्कुटर विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक सवारीसहित फरार भएका छन्।
दुर्घटनामा हेटौंडा–११ थानाभर्याङ निवासी करिब ४० वर्षीया रेणु महत्तोको मुख र टाउकोमा चोट लागेको छ। स्कुटरमा पछाडि सवार उनका २० वर्षीय छोरा विपिन महत्तोको दुवै हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते आमा–छोराको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरी सहायक निरीक्षक अनिल बिकको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ भने फरार मोटरसाइकल र चालकको खोजी तीव्र बनाइएको छ।
प्रहरीले दुर्घटनाग्रस्त स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।














