हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ स्थित शिक्षा निर्देशनालय नजिकको भित्री सडकखण्डबाट शुक्रबार एक जनालाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा फारलाइनबाट हेटौंडा बजारतर्फ पैदल आउँदै गरेका हेटौंडा–१५ फारलाइनका करिब ३४ वर्षीय धिरज अर्याललाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा अर्यालले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीबाट ‘ट्रामोल–५०’ लेखिएको १५ पत्तामा १५० चक्की र ‘एन्टिकफ’ लेखिएको २ पत्तामा २० चक्की गरी जम्मा १७० चक्की लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ परेका अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।
























