आजदेखि हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपेर चारमहिने पूजा सुरु

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि घर–घरमा तुलसी रोपेर चारमहिने विशेष पूजा–आराधना सुरु हुँदैछ।

निर्जला एकादशीका दिन तुलसीको मोठमा राखिएको बिउबाट उम्रिएको बिरुवालाई आज मोठमा सारेर रोप्ने परम्परा छ। सनातन वैदिक धर्मसंस्कृतिमा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।

धर्मशास्त्रअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। यस चारमहिने अवधिलाई ‘चतुर्मासा’ समेत भनिन्छ।

चतुर्मास अवधिमा पर्ने एकादशीलाई विशेष मानिन्छ। शारीरिक रूपमा सक्षम भक्तजनले एकादशीमा फलाहार व्रत बस्ने गर्छन् भने नसक्नेहरूले हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने परम्परा छ।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठसहित चार नारायणका मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

धार्मिक महत्त्वसँगै तुलसीलाई वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिले पनि उपयोगी वनस्पति मानिन्छ। चार महिनासम्म पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गराउने र चतुर्मासा व्रतको उद्यापन गर्ने वैदिक परम्परा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.