मकवानपुरमा लोकसेवा तयारीरत विद्यार्थीको प्रदर्शन, स्थायी पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन माग

हेटौंडा । सरकारी सेवामा स्थायी पदपूर्ति रोक्ने निर्णयको विरोधमा मकवानपुरका लोकसेवा आयोग तयारीरत विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। विद्यार्थीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत ज्ञापनपत्र बुझाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।

मुख्य सचिवको अध्यक्षतामा ४ साउनमा बसेको सचिवस्तरीय बैठकले निर्णय नम्बर–११ मार्फत स्थायी पदपूर्ति रोक्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले त्यसको विरोध गरेका हुन्। उनीहरूले उक्त निर्णयले लोकसेवा आयोगको तयारी गरिरहेका हजारौँ युवाको भविष्य अन्योलमा पार्नुका साथै सार्वजनिक सेवामा प्रवेश गर्ने अवसरसमेत सीमित बनाउने बताएका छन्।

चन्दन कुमार कुशवाहा, सुशील कुमार पटेल, मनोज यादव, सन्देश पटेल, अंशु यादव लगायत परीक्षार्थीहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र बुझाइएको हो।

विद्यार्थीहरूले लोकसेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा विज्ञापन, परीक्षा र नियुक्ति प्रक्रिया सञ्चालन गर्न तथा रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न माग गरेका छन्। साथै, राजनीतिक नियुक्तिको अभ्यास अन्त्य गर्नसमेत उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

आफ्ना मागप्रति सरकारले शीघ्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.