हेटौंडा । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडाबाट तीन भारतीय नागरिकसहित एक नेपालीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको बिहार, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार र २३ वर्षीय अमनराजलाई पक्राउ गरेको हो। उनीहरूसँगै हेटौंडा उपमहानगरपालिका–१० स्थित हेटौंडा बसपार्कमा रहेको बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर अनलाइनमार्फत ठगी गर्ने गरेको सूचनाका आधारमा बिहीबार उनीहरूलाई होटलबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा उनीहरूले मोबाइल डिभाइसमा टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत समूह बनाएर ठगी तथा रकम कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूले प्रयोग गरेका ह्वाट्सएप तथा टेलिग्रामका युजर आईडीमार्फत ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।
























