हेटौँडा । हेटौँडाको प्रमुख पर्यटकीय गन्तव्य सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा ५ लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। स्वदेशी तथा विदेशी गरी एक वर्षको अवधिमा ५ लाखभन्दा बढी पर्यटक स्मारक पुगेको व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए।
पर्यटकका लागि स्मारक हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहने गरेको छ। स्मारक प्रवेशका लागि नेपाली सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यस्तै सार्क राष्ट्रका नागरिकका लागि १०० रुपैयाँ तथा अन्य विदेशी पर्यटकका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको व्यवस्थापक न्यौपानेले बताए।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ साल माघ १७ गते अनावरण गरेको सहिद स्मारक पछिल्लो समय हेटौँडाको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ।
देशका विभिन्न संघर्षमा सहादत प्राप्त १२ जना सहिदको स्मृतिमा निर्माण गरिएको स्मारक परिसरमा सहिद स्मृति स्तम्भ र सहिद ग्यालरीसँगै विभिन्न पर्यटकीय संरचना रहेका छन्।
स्मारकमा मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडियाघर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी तथा ग्रिन हाउस, पौडी पोखरी र वनभोज स्थललगायतका संरचना छन्।
विभिन्न पर्यटकीय तथा मनोरञ्जनात्मक संरचनाका कारण सहिद स्मारकमा पछिल्लो समय आन्तरिकसँगै विदेशी पर्यटकको समेत आकर्षण बढ्दै गएको व्यवस्थापन पक्षले जनाएको छ।
























