हेटौंडा । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा भोलि साउन ७ गते मकवानपुरको हेटौंडामा आयोजना हुने जनसांस्कृतिक साँझ “स्वर समर्पण” का लागि स्वयम्सेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ।
कार्यक्रम नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसांस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा हेटौंडाको रोयल पार्टी प्यालेसमा साँझ ४ बजे हुने भएको हो।
कार्यक्रम सफल बनाउन पार्टी जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय उपसमिति गठन गरिएको छ। समन्वय संयन्त्र र स्वयम्सेवक विभागको संयुक्त बैठकले बेरोजगारलाई कार्यक्रम अवधिभर समग्र स्वयम्सेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।
उपसमितिमा स्वयम्सेवक विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई–दुई जना गरी कूल २७ जना प्रतिनिधिहरू समावेश गरिएको छ।
बैठकमा जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउतले साँस्कृतिक प्रस्तुति र जनवादी गीतहरूको तयारीबारे जानकारी गराएका थिए। यसैगरी, पार्टी जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भव्य र सभ्य बनाउने जिम्मेवारी उपसमितिको रहेको उल्लेख गर्दै सक्रिय सहभागिताको आग्रह गरे।
कार्यक्रम स्थल, डिजिटल प्रचार सामग्रीको डिजाइन लगायत अन्य प्रविधिक व्यवस्थापनको जिम्मा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन लाई दिइएको छ।
बैठक समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता र पार्टी जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा जिल्ला सदस्यहरू दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौलागाईंलगायतको उपस्थिति रहेको थियो।
यसैबीच, नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले पुष्पलालको स्मृतिमा भोलि बिहान ७ बजे श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ। एमाले जिल्ला सचिव सिता विष्टले पुष्पलालको योगदानलाई स्मरण गर्दै श्रद्धासहित दिवस मनाउन सबै तयारी गरिएको जानकारी दिइन्।




































