आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३:१५ बजे खेल सुरु हुनेछ। दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्।
पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हार व्यहोरेको थियो। समूह ‘सी’ मा सुपर–८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीका लागि आजको खेल निर्णायक मानिएको छ।
नेपालले वानखेडे रंगशालामा पहिले पनि खेल खेलेको अनुभव राखेको छ भने इटाली कोलकाताबाट मुम्बई पुगेको हो। टी–२० फम्र्याटमा यो नेपाल र इटालीबीच पहिलो पटकको भिडन्त हो। यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो, पछिल्लो भेट सन् २०१३ मा भएको थियो।
नेपालको टोलीमा कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथ ओभरमा बलिङ सुधार आवश्यक रहेको विश्लेषकहरूको मत छ।
इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान वेन म्याडसन चोटका कारण अनुपस्थित छन्। जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट र मानेन्टी–मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्।
आजको खेलमा नेपाल र इटालीबाट एकैपटक तीन जोडी दाजुभाइ मैदानमा उत्रने दुर्लभ मौका देखिएको छ। नेपालका आरिफ र आसिफ शेख तथा इटालीका मानेन्टी र मुस्का दाजुभाइले विश्वकपमा सँगै खेल्ने सम्भावना रहेको छ।
नेपाल विश्वकपमा १२ वर्षदेखि जितविहीन छ। सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि नेपालले विश्वकपमा जित दर्ता गर्न सकेको छैन। आजको खेलले त्यो लामो प्रतीक्षालाई तोड्ने अवसर प्रस्तुत गरेको छ।


































